काठमाडौँ, १९ भाद्र – निरामयम् योग प्रतिष्ठानको आयोजनामा पशुपति क्षेत्रस्थित तिलगंगाको आनन्द पशुपति होटलमा ‘श्रीकृष्ण जन्माष्टमी महोत्सव २०८३’ तथा राष्ट्रव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा दैविक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको शान्तिको कामना गर्दै शान्ति पाठसहित समारोहको शुभारम्भ गरिएको थियो।

महोत्सवमा गीता ज्ञान पाठशालाका विद्यार्थीहरूले श्रीकृष्ण पूजन, आरती तथा विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा गायिका रोसा फुयेल, गायिका कृपा पौडेल र तबला वादक रोषन फुयेलको भजन-कीर्तन प्रस्तुतिले भक्तिमय माहौल सिर्जना गरेको थियो।
सोही अवसरमा प्रतिष्ठानद्वारा आयोजित दुई चरणको राष्ट्रव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। यही भाद्र १३ गते अन्तिम चरणको प्रतियोगितामा देशभरिका प्रतियोगीहरूबाट छानिएका अन्तिम २० जनाबिच भएको प्रतिस्पर्धामा भावना जोशी प्रथम, रिया जोशी द्वितीय, दिना घिमिरे तृतीय र जेसिका सुवेदी चतुर्थ हुन सफल भएका थिए।
विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य उत्कृष्ट प्रतियोगीहरूलाई सान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजकले बताएको छ।
प्रतिष्ठानका अध्यक्ष आचार्य देवेन्द्र घिमिरेका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, संस्कार, नैतिक शिक्षा, वक्तृत्वकला र आत्मविश्वास बढाउनुका साथै समाजमा श्रीमद्भगवद्गीता र योग शिक्षाको प्रचार-प्रसारमा सहयोग पुग्नेछ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले श्रीकृष्ण जन्माष्टमीको आध्यात्मिक महत्त्व र श्रीमद्भगवद्गीताको व्यावहारिक उपयोगितामाथि प्रकाश पार्नुभएको थियो। उहाँहरूले गीतामा निहित निष्काम कर्म र नैतिक मूल्य-मान्यताहरूलाई आजको आधुनिक समाज तथा युवा पुस्ताको जीवनशैलीमा उतार्न आवश्यक रहेकोमा जोड दिनुभयो। यसका साथै, यस्ता आध्यात्मिक तथा बौद्धिक कार्यक्रमहरूले समाजमा सकारात्मक सोच, ज्ञान र सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा अतिथिहरूले व्यक्त गर्नुभयो।
विशिष्ट व्यक्तित्वहरू, विद्यार्थी, अभिभावक तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको समापनमा सबै सहभागीहरूलाई प्रसाद वितरण गरिएको थियो।



