काठमाडौं: आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको पाँच दिनमै चर्चामा आएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत अहिले युट्युब, फेसबुक र टिकटकमा दर्शकको रोजाइमा पर्न थालेको हो ।
विशेषगरी टिकटकमा गीतका विभिन्न टुक्कामा भिडियो बनाउने क्रम बढेको छ । निर्माण पक्षका अनुसार गीत सार्वजनिक भएको पाँच दिनमै एक लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन् । टिकटकमा बनेका भिडियो तथा गीतका क्लिपहरू फेसबुक र अन्य सामाजिक सञ्जालमा समेत सेयर भइरहेका छन् ।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ । गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । गाउँघरको उत्सव र रमाइलो माहोललाई प्रस्तुत गरिएको गीतको भिडियोमा चलचित्रका कलाकारहरूसँगै गायक अर्जुन सापकोटा पनि देखिएका छन् ।
गीतले छोटो समयमै दर्शकमाझ पाएको प्रतिक्रियाप्रति गायक तथा गीतकार अर्जुन सापकोटाले आभार व्यक्त गरेका छन् । दर्शक तथा श्रोताले गीतलाई माया गरिदिएकोमा उनले धन्यवाद दिँदै सामाजिक सञ्जालमा देखिएको उत्साहले आफूलाई थप उत्साहित बनाएको बताएका छन् ।
त्यस्तै, चलचित्रका निर्देशक बिक्की अगरवालले गीतसँगै चलचित्रप्रति दर्शकले देखाएको चासोले आफूहरू उत्साहित भएको बताएका छन् । गीतको लोकप्रियताले दर्शकमाझ चलचित्रको कथाप्रति समेत थप कौतुहलता सिर्जना गरेको उनको धारणा छ ।
गीतमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकारलाई देख्न सकिन्छ । भिडियोमा अर्जुन सापकोटासँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले नृत्य गरेका छन् । गीतको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन् ।
गीतको चर्चा बढेसँगै निर्माण टिम अहिले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारीमा जुटेको छ । निर्देशक अगरवालका अनुसार केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारी भइरहेको छ । यता चलचित्रका कलाकारहरू पनि फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।
सुदीप बरालको छायांकन रहेको ‘ककाकिकी’को पटकथा निर्देशक बिक्की अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन् । चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्र भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय