काठमाडौँ । उद्घाटन भएको करिब एक महिनापछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ। परीक्षणका रूपमा सुरुङमार्ग सञ्चालनमा ल्याउँदै कार, जीप र भ्यानजस्ता निजी सवारीलाई काठमाडौँ–धादिङ आवतजावत गर्न अनुमति दिइएको हो।
नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको छ। परीक्षण अवधिमा सवारी सञ्चालनको अवस्था, चालकले भोगेका समस्या तथा यात्रुहरूको अनुभवसमेत अध्ययन गरिनेछ।

‘यो हप्ता सवारी सञ्चालनको विश्लेषण गर्छौँ। चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि अन्य सवारीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ।’
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन। सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको छ।
सुरुङभित्र यस्ता छन् नियम
सुरुङमार्गभित्र सवारी चलाउँदा निश्चित सुरक्षा नियम पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। सुरुङभित्र प्रवेश गरेपछि अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्नेछ।
त्यस्तै, सुरुङभित्र गाडी रोक्न र ओभरटेक गर्न पाइने छैन। पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा तथा शुल्क संकलन युनिटको व्यवस्थापन गरिएको छ। सुरुङभित्रको गतिविधि सीसीटीभीमार्फत निगरानी गरिनेछ।
नियमित सञ्चालनपछि शुल्क लाग्ने
परीक्षण अवधिमा निःशुल्क सञ्चालन गरिए पनि नियमित सञ्चालन सुरु भएपछि भने सुरुङ प्रयोग गरेबापत सवारी साधनले शुल्क तिर्नुपर्नेछ।
निर्धारित शुल्कअनुसार कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
बस तथा ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, भारी सवारी साधनका लागि काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।



