काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिनुभएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छ। तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेका छन्।
प्रतिनिधिसभामा सोमबार सांसद निश्कल राईले विदेशस्थित नेपाली नियोगमा कार्यरत नेपाली तथा विदेशी स्थानीय कर्मचारीको संख्या र त्यसबाट राज्यलाई परेको आर्थिक भारबारे सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले स्थानीय कर्मचारी नियुक्ति विश्वव्यापी अभ्यासअनुसार नै हुँदै आएको बताउनुभयो।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा कूटनीतिक कर्मचारीलाई दैनिक प्रशासनिक, कन्सुलरलगायतका काममा सहयोग गर्न स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्ने गरिएको छ। नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यवहारिक हुने उहाँको भनाइ छ ।
‘स्थानीय भाषा, कानुन तथा कार्यसंस्कृति बुझेका कर्मचारीबाट कामकाज गर्न र गराउन सहज तथा प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरमै पदपूर्ति गर्ने गरिएको छ,’ मन्त्री खनालले भन्नुभयो । विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । नियोगको कार्य प्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड तथा अफिस असिस्टेन्टलगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन् ।
मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा हाल १२६ पदमा विदेशी नागरिक र १८५ पदमा नेपाली नागरिक कार्यरत छन् । केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकैपटक कर्मचारी कार्यरत नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष २०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार रुपैयाँ खर्च भएको पनि मन्त्री खनालले जानकारी दिनुभयो । उहाँले नेपाली नियोगमा स्थानीय कर्मचारीको संख्या नेपालजस्तै ठूलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको दाबी गर्नुभयो । ‘यो संख्या नेपालजस्तै डायस्पोरा ठूलो भएका देशहरूको तुलनामा साह्रै न्यून हो,’ उहाँले भन्नुभयो ।
मन्त्री खनालका अनुसार करिब सात लाख नेपाली डायस्पोरा रहेको संयुक्त अरब इमिरेट्स (यूएई)मा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन् । यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । त्यस्तै, करिब तीन लाख ५० हजार नेपाली डायस्पोरा रहेको श्रीलंकाको नियोगमा ४० भन्दा बढी स्थानीय कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय कर्मचारी नियुक्त गर्दा नेपालको कानुनसँगै सम्बन्धित आतिथेय राष्ट्रको स्थानीय कानुन तथा सन् १९६१ को कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि र सन् १९६३ को वाणिज्यदूतसम्बन्धी भियना महासन्धिका केही प्रावधानसमेत आकर्षित हुने मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराउनुभयो । सरकारले विदेशमा रहेका ठूलो संख्याका नेपालीको सुरक्षा, हित र कन्सुलर सेवा प्रभावकारी बनाउन स्थानीय कर्मचारीको व्यवस्थापनलाई समेत आवश्यकताअनुसार अघि बढाउँदै आएको जनाएको छ।



