काठमाडौं । संसद्मा हाजिरी गरेर बैठकमा नबस्ने सांसदको खोजी सुरु भएको छ। प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा बैठक प्रभावित हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको हाजिरी र बैठकमा उपस्थितिको विश्लेषण गर्न थालेको हो।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सांसदहरूको हाजिरी विवरण विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन सचेतकहरूलाई निर्देशन दिएका छन्।

संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर बैठकमा हाजिरी गरेपछि अनुपस्थित हुने सांसदको पहिचान गर्न निर्देशन दिइएको छ। बैठकमा नियमित उपस्थित नहुने सांसदहरूको विवरणसहितको प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाउने तयारी रास्वपाको छ।
गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभाका बैठक प्रभावित हुन थालेपछि रास्वपाले सांसदहरूको उपस्थिति कडाइका साथ निगरानी गर्न थालेको हो।



