काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पछिल्लो राजनीति, अदालतमा विचाराधीन मुद्दा र आफ्नो धार्मिक आस्थाका विषयमा स्पष्ट पारेका छन्। पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफूलाई अदालतप्रति पूर्ण विश्वास रहेको र व्यक्तिगत रूपमा कट्टर हिन्दू भएको दाबी गरे।
न्यायालयप्रति अगाध विश्वास देउवाले पञ्चायत कालदेखि नै अदालतले आफूलाई न्याय दिँदै आएको स्मरण गराए। “पञ्चायत कालमा राजाले थुन्दासमेत निर्णय खारेज गरेर अदालतले मलाई न्याय दिएको थियो,” उनले भने, “अहिले पनि हामी अदालत गएका छौँ, पूर्ण पाठ आएपछि न्याय पाउनेमा म पूर्ण आशावादी छु।”

विशेष महाधिवेशनप्रति असन्तुष्टि पार्टीभित्र सबैको सहमतिमा काम हुनुपर्ने धारणा राख्दै देउवाले जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिका अपनाइएको आरोप लगाए। उनले सहमति बिना गरिएको महाधिवेशन आफूले स्वीकार नगरेको र त्यसैका विरुद्ध अदालत जानुपरेको स्पष्ट पारे।
धार्मिक आस्था र ‘हिन्दू’ पहिचान आफ्नो धार्मिक आस्थाबारे बोल्दै देउवाले भने, “म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ!” आफ्नो व्रतबन्ध र विवाह हिन्दू रीतिरिवाज अनुसार नै भएको र पशुपतिनाथप्रति अगाध आस्था रहेको उनले बताए। नेपाल के हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको बताउँदै उनले कसैलाई हिन्दू हुनबाट रोक्न नसकिने टिप्पणी गरे।
बुद्ध र प्रकृति धर्मको सम्मान हिन्दू धर्मका साथै देउवाले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा प्रशंसा गरे। साथै, राई-लिम्बू लगायतका जनजाति समुदायले मान्दै आएको प्रकृति धर्म र सबै आस्थाको सम्मान गर्ने उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा देउवाले देशका विभिन्न भूभागबाट दुःख-कष्ट सहेर सम्मेलनमा आइपुगेका कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद दिँदै उनीहरूको माया र श्रद्धालाई कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाए।
देउवाको पूर्ण सम्बोधन
“साथीहरू…
आदरणीय नेपाली कांग्रेसका साथीहरू,
सर्वप्रथम म यो भेलामा उपस्थित सबै साथीभाइहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हेरिरहेको छु, दिनभरि देखिनै साथीहरूले पार्टी तथा मेरो समर्थनमा जुन उत्साहपूर्ण सहभागिता देखाउनुभयो, यसका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
अब… नेपाल अत्यन्तै अप्ठ्यारो अवस्थामा छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा मैले हिजो पनि भनिसकेको छु, अस्ति पनि भनिसकेको छु— पञ्चायत कालदेखिने न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। न्याय दिएकोमा, वास्तवमा भन्ने हो भने, राजाले थुन्दाखेरि पनि राजाको निर्णयलाई खारेज गरेको हो। धेरैपटक पञ्चायत कालमा धेरैपटक जेलबाट छुटेको हो म। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।
अझै मुद्दा हामीले हालेका छौँ। अदालतमा कि यो चाहिँ नि… मैले मान्नेवाला पनि थिएन त्यो। मैले मानेको पनि थिएन त्यो। पहिलेको पार्टी महाधिवेशनलाई मैले मानेको पनि थिएन। त्यो चाहिँ निलाई… मैले भनेको थिएँ— सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगरौँ भन्दाभन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्य पूर्ण तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो।
त्यसको खिलाफमा हामी अदालतमा गयौँ। अदालतले भनेको छ यो त अन्याय भयो भनेर। अब मलाई विश्वास छ अदालतको पूर्ण पाठ आउन बाँकी छ, अदालतको पूर्ण न्याय ल्याउन बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन। मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसैकारण अदालतलाई म हार्दिक… पुरा विश्वास गर्दै म अदालतको निर्णयलाई मान्छु।
अब अरू कुराहरूको सम्बन्धमा साथीभाइहरूले बोलिसक्नुभयो। मलाई धेरै केही भन्नु छैन। एउटा… एउटा साथीले लेख्नुभएको छ— सनातन हिन्दु राष्ट्रबारे केही बोलिदिनुपर्यो बोलिदिनुपर्यो भनेर भन्या छ। सबै साथीको इच्छा छ, मलाई नबोल्ने कुरा त छैन। तर म के भने म हिन्दु हुँ।
मेरो व्रतबन्ध पनि हिन्दु अनुसार भएको हो। मेरो बहिनीको बिहे गर्नुपर्यो भन्दाखेरि के गर्ने भनिदिए? बहिनीको बिहे गर्ने भनेपछि… ठीक छ, व्रतबन्ध गरेपछि बहिनीको बिहे गर्न मिल्छ भन्यो। ल, बहिनीको बिहे गरे व्रतबन्ध गरेपछि जनेउ पनि हालेको हो मैले।
त्यसपछि मैले बिहे पनि मैले चाहिँ नि गुह्येश्वरीमा बिहे गरेको हिन्दु रीतिरिवाज अनुसार गरेको हो। त्यसकारण म व्यक्तिगत रूपमा पुरा हिन्दु हुँ हेर्नुस्।
नेपाल के हुने, के धार्मिक स्वतन्त्रता हुन सक्छ भन्ने मान्ने मान्छे हु म। नेपाल के हुने, के नहुने भन्ने कुरा त नेपाल जनताको हातमा छ। तर नेपाली… त्यो हिन्दुलाई हिन्दु हुन पाउँदैनस् भन्न त पाइँदैन।
म हिन्दु हुँ! हिन्दु हुँ! हिन्दु हुँ!
त्यसकारण चाहिँ नि पशुपतिमा जान्छु म। पशुपतिमा गएर पूजा गर्छु मैले। पछि पनि पशुपति जाने मन छ मलाई। त्यसकारण चाहिँ नि मैले के भनिसके भने— म हिन्दु हुँ! हिन्दु हुँ! हिन्दु हुँ!
र मेरा… मेरो बुद्ध… बुद्धप्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिजमलाई आज संसारले मानेको छ। अझ बुद्धिजमलाई त के भन्या छ भने उसलाई चाहिँ नि साइन्टिफिक रिलिजन पनि भन्या छ, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्रकृति धर्म मान्ने देश हो हाम्रो। राई, लिम्बूहरू छ, प्रकृति धर्म… त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ, त्यसलाई म सम्मान गर्छु।
यति भन्दै मलाई धेरै कुरा तपाईंहरूलाई भन्नु छैन। तपाईंहरूलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ आउनुभएको छ, तपाईंहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै टाढादेखि आउनुभयो, दुःख भयो होला, दुःख-कष्ट भयो होला। यसका लागि म क्षमा चाहन्छु। मैले धेरै तपाईंहरूलाई सहयोग गर्न सकिनँ।
यति भन्दै म अब धेरै समय तपाईंहरूको लिन सक्दिनँ। मैले अस्ति बोलिसकेको छु, त्यसैले अहिले मैले के भनेको छु भने— म यत्रा सम्पूर्ण साथीहरूको न्याय पाएको छु, यत्रा सम्पूर्ण साथीभाइको श्रद्धा पाएको छु, त्यसलाई म कहिल्यै बिर्सिनेछैन।
त्यसकारण चाहिँ नि मैले भोलिका दिनमा पनि म साथीभाइको माया, साथीभाइको श्रद्धा बन्नलाई कहिल्यै बिर्सन्न। यसलाई अगाडि बढाउँदै तपाईंहरूले जे भन्नुहुन्छ त्यसमै लाग्नेछु भन्दै म धेरै तपाईंहरूको समय लिन चाहन्न। यति भन्दै बिदा हुन्छु, धन्यवाद। जय नेपाल!”



