आज काठमाडौं उपत्यकाका यी ७ स्थानबाट ग्यास पाइन्छ, विवरणसहित
काठमाडौं । एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।

निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ। नियमित बिक्रेताबाट ग्यास पाउन नसकेका अत्यावश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएको बिक्री केन्द्रमा पुगेर ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास पाइने स्थान र ब्रान्ड :
- निगमको टेकु परिसर — नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम र सगर
- पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ — नेपाल, एचपी र भानु
- राधास्वामी, कीर्तिपुर परिसर — नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
- नयाँ बजार जुडो हल परिसर — नेपाल, एचपी र ओम
- तारकेश्वर नगरपालिका परिसर — नेपाल र एचपी
- चन्द्रागिरि नगरपालिका कार्यालय — लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी — नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट सुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र नियमित बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ। समस्यामा परेका तथा अत्यावश्यक उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा आउन आग्रह गरेको छ।



