काठमाडौं: सुचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिनाले आफ्नो मान्छे लोक सेवा आयोगले सिफारिस नगरे पछि सार्वजनिक सेवा प्रशारण नेपालको कार्यकारी अध्यक्ष पदका लागि गरिएको सिफारिस नै लत्याइदिएका छन् । लोक सेवा आयोगमा सिफारिस गरिएको प्रक्रिया रद्द गर्नका लागि पटक पटक प्रयास गरेका उनले आयोगले तीन जनाको नाम सिफारिस भएर मन्त्रिपरषदमा पठाइसकेकाले कानुनबमोजिम रद्द गर्न नमिल्ने जवाफ दिए पछि निर्णय नै लत्याउने गरी कार्यान्वयन नै रोकेर बसेका छन् ।
मन्त्रालयकै प्रस्तावमा आयोगको विज्ञ समितिसहितले सिफारिस गरेको नामबाट मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्ष नियुक्त गर्नु पर्नेमा मन्त्री तिमल्सिनाले कानुन नै उल्लंघन गर्दै आफूनिकटलाई बोर्ड सदस्यको नियुक्ति दिएर नियमविपरित कार्यवाहक दिएका छन् । यसले सार्वजनिक सेवा प्रशारण नेपालको अध्यक्ष नियुक्ति मै डेडलक देखिएको छ ।
श्रोतका अनुसार आयोगको विज्ञ समितिले चिन्तामणि बराल, लक्ष्मण हुमागाईं र गोविन्द भण्डारीको नाम सिफारिस गरेको छ । हुमागाईं, भण्डारी र बराल आफू अनुकुल नभए पछि मन्त्री तिमल्सिनाले नयाँ सूचना निकालेर आफू निकटलाई अध्यक्ष ल्याउने कसरत थालेका थिए ।
लोक सेवा आयोगमै पुगेर प्रक्रिया रद्द गर्न गरेको पटक पटकको प्रयास विफल भए पछि तिमल्सिनाले पहिले आफूले काम गरेको रेडियो सगरमाथाकी म्यानेजर उर्वशी बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै निरन्तर कार्यवाहक दिने निर्णय गरेका छन् । न्यौपाने र रेडियो नेपालमा कार्यक्रम प्रस्तोताका लागि निवेदन दिएकी पत्रकार सोविता रिसाललाई सदस्यको नियुक्ति दिएका उनले आफू अनुकुल अध्यक्ष नआउने देखे पछि प्रक्रिया नै अवरुद्ध गर्दै आफ्नी पूर्व हाकिम बस्नेतलाई पहिले बोर्ड अध्यक्षता तथा केही दिनभित्रै कार्यवाहकको जिम्मा लगाएका हुन् ।
सार्वजनिक सेवा प्रशारण ऐन २०८१ का अनुसार कार्यकारी प्रमुख हुने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता ठूला संस्थाको नेतृत्व हाँक्नका लागि कार्यकारी अध्यक्षसँग कम्तिमा १५ वर्ष पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारण इञ्जिनियरिंगको अनुभव तथा कुनै दलको सदस्य नरहेको हुनुपर्नेछ । तर उनले अर्को व्यवस्था नभएसम्म भनेर जिम्मा दिएकी न्यौपानेसँग दुई संस्था धान्ने अनुभव र योग्यता पुग्ने देखिन्न । सामान्य प्रस्तोताबाट म्यानेजर भएकी र एमालेनिकट प्रेस चौतारी नेपालकी सक्रिय नेता उनैलाई कार्यवाहक दिएर क्षमतावान कार्यकारी आउन नदिनुले मन्त्री तिमल्सिनाले आफूअनुकुल दुवै संस्था चलाउन चोहेको देखिन्छ । अर्की सदस्यको नियुत्तिः दिएकी रिसाल केही अघि मात्र रेडियो नेपालमा कार्यक्रम सञचालनका लागि आवेदन दिएकी व्यक्ति हुन् । यसअघि उनी सामुदायिक रेडियो प्रसारक संघमा समाचारदाता दिइन् । मन्त्री तिमल्सिनाले त्यति ठूलो संस्थामा अनुभव र क्षमतै नपुग्ने पात्रलाई नियुक्ति दिएर आफ्नो स्वार्थमा काम गराउन खोजेको जानकार बताउँछन् ।
समयमा अध्यक्ष नदिंदा बजेट र कार्यक्रम नै ठप्प
दैनिक सामाजिक सञ्जालमा झिनामसिना कामको पोष्ट गरेर लोकप्रियता खोज्ने मन्त्री तिमल्सिनाले कार्यकारी अध्यक्षको नियुक्ति रोक्दा अहिले बोर्ड नै पूरा हुन सकेको छैन । मन्त्रालयबाट लामो समयदेखि बोर्ड सदस्य गौरव गिरीले समेत अनुभवहिन सदस्यसँग काम गर्ने वातावरण नभएको भन्दै हालै राजीनामा दिएका छन् । यसले बोर्ड समेत अपुरो हुँदा साउन बाट शुरु हुनुपर्ने कार्यक्रम र बजेट दुवै रोकिएको छ । यसको प्रभावस्वरुप नयाँ कार्यक्रम रोकिएको छ भने रेडियो र टिभीमा तलब खुवाउने पैसा समेत पेस्की लिनुपर्ने अवस्था आएको छ ।
काम नगरेको बालेन सचिवालयको चेतावनीपछि फेसबुकमा झिनामसिना पोष्ट
मन्त्रालयले कोही सदस्य पठाए पनि क्षमता नै नभएकालाई अनुकुल काम लगाउन खोजेका उनले ठूलो प्रसारण संस्थालाई भने नराम्रोसँग भड्खालोमा जाकिदिएका छन् । राम्रो नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री बालेन साहको सचिवालयबाट बारम्बार चेतावनी पाइरहेका उनले आजकल काम देखाउन फेसबुकमा दिनहुँ पोष्ट गर्ने गरे पनि ठूलो संस्थाको नेतृत्वमा क्षमताहिन तथा अनुकुल मान्छे राख्न प्रक्रिया नै अवरुद्ध गर्नुले उनको नियत सफा नदेखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरु भन्छन् पढेको भनिए पनि निर्णय र काम गर्ने क्षमता कत्ति पनि देखिएन । नाम नबताउने शर्तमा ती अधिकारी भन्छन्,-फेसबुकमै रमाउन फोटो र पोष्टमा झुम्मिनेले के काम गर्नु ?




