काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना पोर्टलमा समावेश गरिएका छन्। आगामी चरणमा अन्य सिँचाइ आयोजनालाई पनि क्रमशः यही प्रणालीमा आबद्ध गरिने जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हालै प्रमुख सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यो प्रणाली सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

पोर्टल सञ्चालनमा आएपछि मन्त्री तथा मन्त्रालयका सचिवले आफ्नै कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माण अवस्था तथा देखिएका समस्याको प्रत्यक्ष अनुगमन गर्न सक्नेछन्। यसले आयोजनाको नियमित निगरानी उच्च तहबाटै सम्भव हुने विश्वास गरिएको छ।

अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी, विवाद, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयास अनिवार्य रूपमा पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार डिजिटल प्रणालीले समस्यालाई नक्सासहित देखाउने, स्वचालित प्रगति प्रतिवेदन तयार गर्ने तथा कुन प्याकेज किन ढिलो भएको, कति समयदेखि समस्या रहेको र समाधानको जिम्मेवारी कसको हो भन्ने विवरणसमेत स्पष्ट रूपमा प्रस्तुत गर्नेछ।

पोर्टललाई आगामी दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयराष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत एकीकृत गरिनेछ। साथै आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पनि यही प्रणालीबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिने मन्त्रालयले जनाएको छ।

पोर्टल उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल प्रणालीले महिनौँसम्म फाइलमै सीमित रहने समस्यालाई समयमै पहिचान गरी निर्णय प्रक्रिया छिटो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्तर–मन्त्रालय समन्वय आवश्यक पर्ने विषयसमेत अब साप्ताहिक रूपमा पहिचान गरी समाधान प्रक्रियामा लैजान सकिने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय