काठमाडौँ। लामो समयदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभएको छ।
प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानामा पछिल्लो समय भएका सुधारले सरकारी उद्योग पुनरुत्थान सम्भव रहेको देखाएको छ।

नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु.२ करोड ३८ लाखको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा रु.३ करोड नाफा कमाएको छ। हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ।
त्यस्तै, नेपाल एयरलाइन्सले गत चैतदेखि असारसम्म रु.६ अर्ब २७ करोड आम्दानी गरेको छ। डीडीसीको किसान बक्यौता रु.७२ करोडबाट घटेर रु.३५ करोडमा झरेको छ भने दैनिक राजस्व रु.६० लाखबाट रु.९० लाख पुगेको छ।
सिंहदरबार वैद्यखानाको औषधि कारोबार पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले बढेर करिब रु.१३ करोड पुगेको जनाइएको छ।
प्रधानमन्त्री शाहले इमान्दार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र निरन्तर समन्वयबाट रुग्ण सरकारी संस्थानलाई पुनः प्रतिस्पर्धी बनाउन सकिने बताउनुभएको छ।
प्रधानमन्त्री शाहको फेसबुक स्टाटस



