काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राज्य प्रणाली, राज्य सञ्चालन र लोकतन्त्रको संरक्षणका लागि ‘राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास’ लाई मुख्य मन्त्र मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नियत र निष्ठामा शङ्का नभए पनि सरकारको कार्यशैलीमा अझै ढङ्ग नपुगेको भन्दै सुधारको आवश्यकता औँल्याए।

भषणका क्रममा सांसद झाले देशको दिगो र सन्तुलित विकासका लागि तीन मुख्य खम्बा— मधेस, प्रवास र निजी क्षेत्र लाई सरकारले प्रमुख साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

मधेस र सीमाको विभेदप्रति प्रश्न

मधेस क्षेत्र अझै पनि उपेक्षित र असुरक्षित महसुस गरिरहेको बताउँदै सांसद झाले राज्यको दोहोरो नीतिको कडा आलोचना गरे। “विमानस्थलबाट आउने धनीलाई ब्लु लेबल र ल्यापटप ल्याउन छुट हुने, तर मधेसको सीमामा गरिब सर्वसाधारणले ल्याएको २५ रुपैयाँको चिप्ससमेत सुरक्षाकर्मीले खोस्ने?” भन्दै उनले राज्यको व्यवहार सन्तुलित र न्यायपूर्ण हुनुपर्ने माग गरे। मधेसमा आगो निभे पनि दाउरा अझै नसल्किएको भन्दै उनले सरकारलाई सचेत गराए।

प्रवासी नेपालीको पुँजी परिचालन गर्न आग्रह

गैरआवासीय नेपाली (एनआरएन) हरूको क्षमता र पुँजीको सही उपयोग गर्न नसकिएको बताउँदै उनले नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) भन्दा तीन गुणा बढी लगानी क्षमता प्रवासी नेपालीसँग रहेको दाबी गरे। उनीहरूलाई स्वदेशमा लगानी गर्न आकर्षित गर्नका लागि नागरिकता, भिसा, स्टक मार्केट र लगानीसम्बन्धी प्रक्रियालाई सहज र स्वागतयोग्य बनाउनुपर्ने उनको भनाइ थियो।

निजी क्षेत्रको डर र त्रास हटाउन माग

प्रहरी र प्रशासनको धरपकडको डरले देशको निजी क्षेत्र त्रसित बनेको टिप्पणी गर्दै सांसद झाले निजी क्षेत्रलाई लगानी गर्ने र निर्धक्क खर्च गर्ने वातावरण मिलाउन सरकारसँग माग गरे। “प्रहरी देख्दा नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा उल्टै धरपकड वा छापामारीको डरले तर्सिने अवस्था छ,” उनले भने, “निजी क्षेत्रलाई आत्मविश्वास नदिएसम्म आर्थिक गतिविधि अघि बढ्न सक्दैन।”

अर्थ मन्त्रालयबाट भएका सुधारका प्रयासहरू कागजमा मात्र सीमित नभई व्यवहारमै देखिनुपर्ने भन्दै सांसद झाले सामाजिक न्याय र सन्तुलित विकासबिना राजनीतिक उपलब्धि दिगो हुन नसक्ने स्पष्ट पारे।

(माननीय मनिष झाको सम्बोधन):

सभामुख महोदय,

लोकतान्त्रिक राज्यको लागि र अहिलेको सबै परिस्थिति हेर्दै गर्दाखेरि मूल मन्त्र के आवश्यक छ, राज्य प्रणालीमा, राज्य सञ्चालनमा र संविधान र लोकतन्त्रको संरक्षणमा के मूल मन्त्र आवश्यक छ भनेर हेर्दाखेरि मलाई के लाग्छ भने— राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास

यो दुइटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन र सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई त्यसमा केन्द्रित गर्‍यौँ भने अलि हामी केही हासिल गर्न सक्छौँ।

अहिलेको कुरामा इन्टिग्रेटीको (Integrity) प्रश्न छैन। इन्टिग्रेटीमा कुनै पनि शंका छैन। इन्टेन्सन (Intention) मा पनि कुनै प्रश्न छैन। तर कता-कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ। र त्यो स्वीकार्नुपर्छ। If you don’t know what you don’t know, then you don’t know, really you don’t know. त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ र त्यो कुरा सिक्नुपर्दछ।

यो सुन्दर पिचाई, गुगलको सीईओले भन्नुहुन्छ, “The day you feel that you have learned everything, you are almost dead.” जुन दिन तपाईं यो सोच्नुहुन्छ कि तपाईंलाई सबै चिज थाहा छ, त्यो दिन तपाईं मृत्यु समान हो। त्यसैले गर्दाखेरि हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनको कुराहरूमा यो कुरा कतैतिर अझै ढङ्ग सुधार्नुपर्छ कि जस्तो चाहिँ लाग्छ।

समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन। यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन।

हामीले वृद्धि र विकासको भिन्नता पनि बुझ्नुपर्छ। यहाँ चन्द्रागिरिको डाँडाबाट काठमाडौँ भ्याली हेर्दै गर्दाखेरि सबैतिर फैलिएको देखिन्छ, त्यो वृद्धि हो। तर त्यहाँ एउटा संरचना, एउटा योजना अनुसार छ कि छैन भनेर हेर्दा कतै पनि देखिँदैन। घरहरू हेर्दै गर्दा त्यो संरचना योजना बगैर आफ्नै तरिकाले वृद्धि भएको देखिन्छ।

पहिला-पहिला काठमाडौँ भ्यालीभित्र, उपत्यकाभित्र ठूलो-ठूलो दरबार बन्थ्यो, ठूलो-ठूलो संरचनाहरू बन्यो, तर त्यही डाँडापारि धादिङको डाँडापारि स्कुल र अस्पताल पनि थिएन। त्यो वृद्धि थियो, विकास थिएन, किनकि त्यहाँ सन्तुलन थिएन। त्यहाँ दिगोपन थिएन।

अहिले एउटा दिगोपन र एउटा सन्तुलित विकासमा आवश्यक छ, तर त्यो गर्दै गर्दा त्यसको स्टेकहोल्डर (Stakeholder) को-को हो त? कस-कसको कारण त्यो दिगोपन हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसको सम्मान गर्न जान्नुपर्छ।

यो देशमा अहिले दिगोपन, सन्तुलित, समुन्नत विकासको लागि दिगोपनमा स्टेकहोल्डरहरू—

  • एउटा मधेस छ,

  • अर्को प्रवास छ,

  • अर्को निजी क्षेत्र छ।

तर हेर्नुस् न, दुर्भाग्य तीनै असुरक्षित छन्।

मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु— आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुस्।

अब त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ। तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न, विमानस्थल (Airport) मा त ब्लु लेबल (Blue Label) र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो मधेसको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोज्दै छ तपाईंको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र विमानस्थलमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ?

“कहाँ से आते हैं ये लोग और कहाँ से आती है ये सोच?” भन्ने ठूलो प्रश्न सोध्दै छन् जनता मलाई। किन असन्तुलन छ तिमीहरूको बाट? त्यो व्यवहार किन सन्तुलित छैन भनेर?

यो डिस्पोजेबल इन्कम (Disposable income) मधेसमा एकदमै हाई (High) छ— खर्च लायकको आम्दानी। र खर्च लायकको आम्दानीलाई हामीले जबसम्म फर्मल इकोनोमी (Formal economy) मा ल्याउन सक्दैनौँ, त्यो समाजमा ड्रग्स, त्यो समाजमा मदिरा लगायत अरू खर्चहरू धेरै देखिन्छ। त्यो मधेसमा देखिएको छ।

जसरी अहिले यो चिट्ठा दिएर ट्याक्सको बिलको इन्भोइसको प्राक्टिस (Invoice practices) हरूलाई इन्करेज (Encourage) गर्नको लागि अर्थ मन्त्रालयबाट प्रयास भएको छ, त्यसरी नै रेमिट्यान्सलाई पनि फर्मल इकोनोमीमा ल्याउनको लागि जुन २००६/७ ताका बाङ्ग्लादेशले क्यासब्याक अफर गरेको थियो, त्यो अफरहरू हामीकहाँ पनि गरोस् र त्यसले गर्दा डिस्पोजेबल इन्कम (खर्च लायकको आम्दानी) कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ, त्यसमा संस्कार र सभ्यता पनि (Civilization) त्यत्तिकै आवश्यक हुन्छ। यदि समाजमा पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम भोलि गएर हरेक नेतृत्वले हेर्नुपर्छ।

र अर्को के भन्छ भने, जुन देश अण्डरडेभलप्ड (Underdeveloped) छ, अविकसित छ, त्यो देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ, नेतृत्वसँग हुन्छ। उनी पिपुल्स पर्सन (People’s person) हुनुपर्छ। अमेरिका, बेलायत, फ्रान्स, जापान जस्तो डेभलप्ड कन्ट्री (Developed country) मा पोलिटिसियनलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ, तर हामीजस्तो देशमा यदि राजनीतिज्ञलाई चिन्दैन भने दैनिकी सामान्य हुँदैन। त्यो कमजोर राज्यको एउटा सूचक हो।

त्यसैले गर्दा यो कमजोर राज्यमा यदि सामाजिक न्याय, सामाजिक सन्तुलन, दिगो विकास, लोकतन्त्र— यो सबै कुराहरू छैन, सन्तुलित छैन भने त्यो कमजोर राज्यको सूचक हो। त्यसैले गर्दा The people’s person should be always within the people भन्छ। जननिर्वाचितहरू जनतासँग कनेक्टेड (Connected) हुनुपर्छ।

हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ।

त्यसैले गर्दाखेरि यो राज्य यदि सन्तुलित हुँदैन र हामीले सबै सन्तुलित समुन्नत विकास गर्न सक्दैनौँ भने यो राजनीतिक उपलब्धिहरू… र अर्को प्रवासको कुरा गरौँ न।

प्रवासको कुरा गर्दै गर्दा म पोखरामा १९९८ को इन्डियाको परमाणु परीक्षण हुँदै गर्दाखेरि त्यसपछि अन्तर्राष्ट्रिय जगतले इन्डियामा लगाएको आर्थिक नाकाबन्दी, त्यसपछि आर्थिक रूपमा एकदमै असुरक्षित भयो इन्डिया, त्यो बेलामा त्यहाँको सेन्ट्रल बैङ्कले बन्ड (Bond) निकाल्यो। र त्यो बन्ड ४.८ बिलियन (४८० करोड) चाहिँ एनआरआई (NRI) ले किन्दियो। त्यसपछि त्यहाँको एनआरआईले कसरी देशलाई थेग्न सक्छ भन्ने देखियो।

हाम्रो प्रवास पनि निकै सबल भइसकेको छ। राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोच्छन् तर भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटेँ, जसको प्राइभेट जेट छ, जहाज छ। नेपालीहरू त्यहाँ पुगिसक्यो। अब उहाँहरूलाई वेलकम (Welcome) गर्नुपर्यो, अलि न्यानो (Warm) हुनुपर्यो उहाँहरूप्रति। नागरिकताको इस्यु, भिसाको इस्यु, इन्भेस्टमेन्टको इस्यु, स्टक मार्केटको इस्यु— यो सबैमा हामी अलि प्रवासी नेपालीप्रति वेलकमिङ (Welcoming) भयौँ भने हाम्रो यानुअल जिडिपी (Annual GDP) जति छ, त्यसको थ्री टाइम्स (Three times) उहाँहरूसँग फण्ड छ, इन्भेस्टमेन्टको क्यापासिटी छ। त्यसमा म राज्यको ध्यानाकर्षण गराउन चाहन्छु।

र अन्तिममा, निजी क्षेत्र। निजी क्षेत्र त्रसित छ। प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्— कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न। भएको पैसा खर्च गर्न दिनुस्, बैङ्कमा भएको पैसा लगानी गर्न दिनुस्, त्यो वातावरण दिनुस्, त्यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेको छ तर त्यो प्रयास पेपरमा मात्र देखिएको छ, व्यवहारमा देखिएको छैन।

त्यसैले गर्दा लोकतन्त्र, सन्तुलित विकास, सबै चिजको लागि— मधेस, प्रवास र निजी क्षेत्र, यो तीनवटालाई एउटा साझेदारको रूपमा लिएर सरकारको तर्फबाट राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूल मन्त्र राखेर प्रयासहरू गरियोस्, धन्यवाद!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय