काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायहरूबारे छलफल भएको थियो ।
मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौंस्थित मोरक्कोको अवैतनिक वाणिज्यदूतावासद्वारा आयोजित सांस्कृतिक कार्यक्रमसहितको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी, सेमिनार तथा स्वागत समारोहमा सहभागी हुन नेपाल आउनुभएका राजदूत मलिकीले परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार गर्नुभएको हो।

छलफलका क्रममा मोरक्कोबाट नेपालमा रासायनिक मल आपूर्तिको सम्भावनालगायत कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । भेटका अवसरमा काठमाडौंमा नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक दुवै पक्षलाई अनुकूल हुने उपयुक्त मितिमा आयोजना गर्ने विषयमा समेत छलफल भएको थियो । उक्त बैठकमार्फत दुई मुलुकबीचको द्विपक्षीय सहयोगका समग्र क्षेत्रको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्र पहिचान तथा प्रवर्द्धन गर्न सहज हुने विश्वास व्यक्त गरिएको थियो ।
नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा दुई मुलुकबीच कृषि, पर्यटन, संस्कृति, नवीकरणीय ऊर्जा तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यका सम्भावना विस्तार हुँदै गएका छन् ।



