काठमाडौं: प्रतिनिधि सभामा सांसद रहबर अन्सारीले विभिन्न धार्मिक तथा सांस्कृतिक नाराहरूको दुरुपयोग गरी समाजमा द्वेष, उत्तेजना र साम्प्रदायिकता फैलाउने काम भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
सम्बोधनका क्रममा अन्सारीले ‘जय श्री राम’, ‘हरहर महादेव’, ‘नारा-ए-तकबीर अल्लाह हु अकबर’, ‘हलेलुया’ र ‘नमो बुद्धाय’ जस्ता शब्दहरू कुनै समुदाय विशेषलाई तर्साउन वा राजनीतिक नारा बनाउन प्रयोग गरिनु दुःखद भएको बताउनुभयो। यी शब्द तथा नाराहरू करोडौँ मानिसहरूले आफ्नो ईश्वरप्रतिको अगाध आस्था, भक्ति, करुणा र श्रद्धा व्यक्त गर्ने पवित्र अभिव्यक्ति भएको उहाँको भनाइ छ।

अन्सारीका अनुसार, जब कुनै समूहले यी पवित्र नाराको आडमा अर्को समुदायमाथि आक्रमण वा हिंसा गर्छ, तब उनीहरूले आफ्नै धर्मका मूल उपदेश, सद्भाव र मर्यादालाई भुल्ने गर्छन्। यस्ता घृणास्पद अभिव्यक्तिकै कारण विश्वका विभिन्न देशहरूमा मानवअधिकारको गम्भीर हनन भएको उदाहरण दिँदै नेपालमा पनि राजनीतिक स्वार्थका लागि जातीय तथा धार्मिक विभाजन ल्याउने प्रयास भइरहेको चेतावनी दिनुभयो।
पछिल्लो निर्वाचनमा जनताले विभाजनकारी राजनीतिलाई अस्वीकार गर्दै एकताको पक्षमा मतदान गरेको उल्लेख गर्दै अन्सारीले राज्यले सबै नागरिक, अल्पसंख्यक र बहुसंख्यकको रक्षाको पूर्ण जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो। सामाजिक सञ्जाल, मिडिया वा राजनीतिक नेतृत्वका तर्फबाट आउने यस्ता घृणास्पद अभिव्यक्ति (हेट स्पिच) दिने पात्रहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन र नेपालको ऐतिहासिक धार्मिक सहिष्णुता कायम राख्न उहाँले राज्यसँग माग गर्नुभयो।



