काठमाडौ:  गायक सुमन सरगम र चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘आफ्‌नो बनाई लैजाउ’ सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच चर्चित गायकद्वय राजेश पायल राईयश कुमारले संयुक्त रूपमा गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै ‘राई इज किङ’का रूपमा परिचित गायक राजेश पायल राईले आफू रियालिटी शो ‘खोजी प्रतिभाको’ मा निर्णायक रहँदा सुमनलाई एक अब्बल प्रतिभाका रूपमा भेटेको स्मरण गरे। गायनसँगै सुमनले भिडियोमा गरेको अभिनयको प्रशंसा गर्दै उनले खुसी व्यक्त गरे।

त्यस्तै गायक यश कुमारले सुमन पहिलो पटक काठमाडौँ आउँदा ठमेलको एक रेस्टुरेन्टमा भेट भएको पुराना दिन सम्झिए। गाउँबाट आएका र काठमाडौँमा कोही नभएका सुमनको सांगीतिक कला देखेर आफूले बस्ने ठाउँ र जागिरको व्यवस्था गरिदिएको स्मरण गर्दै यश कुमारले आज उनको प्रगति देख्दा निकै गर्व लागेको बताए।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको यस गीतको रेकर्डिङ ‘होरिजन रेकर्डिङ स्टुडियो’ मा गरिएको हो। गीतमा याकुभ तामाङको म्युजिक प्रोडक्सन तथा रेशम गदालको मिक्सिङ र मास्टरिङ रहेको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा गायक सुमन सरगम स्वयंले मोडल गरिमा शर्मासँग अभिनय गरेका छन्। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन, मिलन विश्वकर्माले कलर र रोशन विश्वकर्माले कोरियोग्राफी गरेका हुन्।

यो म्युजिक भिडियो गायक सुमन सरगमको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय