काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपबाटै सोझै बैंक खाता खोल्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यस प्रविधिले सेवाग्राहीलाई बैंकिङ प्रक्रिया थप सरल र सुरक्षित बनाएको छ।
यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनेका नागरिकले एपमार्फत बैंकको क्यूआर कोड स्क्यान गरी क्षणभरमै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। ग्राहकको पूर्व स्वीकृतिमा नागरिक एपमा रहेको विवरण बैंकले सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले फाराममा पुनः विवरण भरिरहने झन्झट हट्नेछ।

एपमार्फत खोलिएको खातालाई घरमै बसेर भिडियो केवाईसी (Video KYC) वा नजिकैको शाखा कार्यालयमा गई प्रमाणीकरण गरेपछि पूर्ण रूपमा सञ्चालन गर्न सकिने बैंकले जनाएको छ।
देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको पहिलो निजी वाणिज्य बैंक ग्लोबल आइएमईका ३४२ शाखा, ३६८ एटिएमसहित १ हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्। बैंकले लगातार ‘बेष्ट बैंक नेपाल’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूसमेत प्राप्त गरिसकेको छ।



