काठमाडौं :आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। सिमरामा भएको मौखिक सहमतिलाई औपचारिक रूपमा लिखित सम्झौतामा रूपान्तरण गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएका सहमतिलाई आधार बनाएर आज औपचारिक सम्झौता गर्ने तयारी अघि बढाइएको हो। वार्ता सफल भए आजै सम्झौता पत्रमा हस्ताक्षर गरी आन्दोलनका आगामी कार्यक्रमबारे समेत निर्णय हुने अपेक्षा गरिएको छ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य रहेका छन्।
यता, पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहनुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्यका रूपमा सहभागी छन्। दुवै पक्षबीच सहमति जुटेपछि मिटरब्याज पीडितको आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको छ।



