काठमाडौँ:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी दुर्घटना र त्यहाँका नागरिकले भोग्नुपरेको नियतिलाई लिएर संसदमा सरकारको कडा आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भावुक र आक्रोशित मुद्रामा राज्यको संवेदनहीनतामाथि गम्भीर प्रश्न उठाउनुभएको हो। कर्णालीमा गाडी नदीमा खस्दा नागरिकहरू नदीको बीचबाट ‘बचाइदिनुस्’ भन्दै जीवनको भिख मागिरहेका बेला राज्य संयन्त्र भने मन्त्रीको सयरमा व्यस्त रहेको आरोप उहाँले लगाउनुभयो।

“नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, त्यही बेला आकाशमा हेलिकप्टर देखियो। तर, त्यो उद्धारका लागि थिएन, मन्त्रीको सवारीका लागि थियो,” सांसद शाहीले आक्रोश पोख्नुभयो। उहाँले एकातिर नागरिक डुबिरहँदा अर्कोतिर प्रदेश सभामा भाग नपुगेर सांसदहरू झगडा गरिरहेको भन्दै नेताहरूको कुर्सी मोहमाथि तिखो प्रहार गर्नुभयो।

दुर्घटनास्थलमा उद्धार टोली आवश्यक साधनबिना ५ घण्टा ढिला गरी पुगेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मी पुग्दासम्म धेरै ढिला भइसकेको र नागरिकहरू बेपत्ता भइसकेको संसदलाई जानकारी गराउनुभयो। सो दुर्घटनामा धेरैले आफ्ना आमा, बुबा, श्रीमान्, श्रीमती र सन्तान गुमाएको भन्दै उहाँले यो घटना केवल एउटा दुर्घटना नभएर राज्यको चरम संवेदनहीनता र असफलताको प्रमाण भएको दाबी गर्नुभयो।

संसदमा बोल्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो, “के कर्णालीका जनता यो देशका नागरिक होइनन्? विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ? कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो?”

सांसद शाहीले सभामुखमार्फत सरकारको नाममा रुलिङ जारी गर्न माग गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, र दोषीमाथि तत्काल कारबाही गर्न जोडदार माग गर्नुभएको छ। उहाँले कर्णालीले दया वा सहानुभूति नभई समान व्यवहार र जीवनको अधिकार खोजेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय