युक्रेनमा रूसले गरेको भीषण हमलामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बिहीबार रूसले युक्रेनको राजधानीमा किभमा सैयौं ड्रोन र दर्जनौं मिसाइलले हमला गर्दा मृत्यु कम्तिमा २७ जनाको मृत्यु र ९१ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रूसले युक्रेनमाथि गरेको यो हमला यो वर्षकै सबैभन्दा घातक हमला हो । राजधानीमै भीषण हमला भएपछि बिहीबार राति हजारौं नागरिकहरूले बंकर र भूमिगत मेट्रो स्टेसनमा रात कटाएका थिए ।
आक्रमणबाट करिब १३० वटा भवनमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । किभको सैन्य प्रशासन प्रमुख तिमुर तकाचेन्कोले टेलिग्राममार्फत घाइतेमध्ये एक जनाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको जानकारी दिएका हुन् । उनका अनुसार उद्धार टोली अझै भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजीमा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका छ । उनले किभको पूर्वी क्षेत्रमा पर्ने एक आवासीय क्षेत्रमा पाँच जनाको शव फेला परेको र आठ जना अझै बेपत्ता रहेको बताए । ‘सबै भग्नावशेष नहटाएसम्म उद्धार कार्य निरन्तर चलिरहनेछ। दुर्भाग्यवश अझै थप मृतक भेटिन सक्छन्,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनले आधा ध्वस्त बनेको नौतले आवासीय भवनको निरीक्षण गर्दै सहयोगी राष्ट्रहरूले वाचा गरेअनुसार समयमै हवाई सुरक्षा प्रणाली उपलब्ध नगराएकै कारण क्षति बढेको आरोप लगाए । ‘यदि हाम्रा साझेदारहरूले समयमै आफ्नो प्रतिबद्धता पूरा गरेका भए आज अझ धेरै घर र नागरिकको ज्यान बचाउन सकिन्थ्यो । हामीले थप केही मागेका छैनौं, केवल पहिले भएको सहमति कार्यान्वयन गरिदिन मात्र भनेका हौं,’ उनले भने।
पछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी साता टर्कीमा हुने नेटो शिखर सम्मेलनको मुख्य एजेन्डामध्ये हवाई सुरक्षा पनि हुने बताए । ‘यदि नेटो अझै पनि आफ्ना सदस्य राष्ट्रका लागि अर्थपूर्ण संगठन हो भने युरोपसँग रुसी ब्यालेस्टिक मिसाइललगायत सबै प्रकारका खतराको सामना गर्ने पर्याप्त क्षमता हुनुपर्छ,’ उनले भने । युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इहनातले ब्यालेस्टिक मिसाइलको संख्या असामान्य रूपमा धेरै रहेको र तिनलाई रोक्ने सफलता दर निकै कम भएको बताए। पछिल्ला महिनाहरूमा युक्रेनसँग अमेरिकी प्याट्रियट हवाई सुरक्षा मिसाइलको अभाव रहेको जनाइएको छ।




