काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्य सोम शर्माले आफूलाई निर्वाचित सदस्यको नामावलीबाट हटाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले निर्वाचन आयोगलाई पत्र लेख्दै निर्णय तत्काल सच्याउन र कानुनी आधार सार्वजनिक गर्न माग गरेका छन्।

असार २६ गते मिति गरिएको पत्रमा शर्माले महाधिवेशनमा गण्डकी भूगोलबाट ९२३ मत प्राप्त गरी चौथो उच्च मतसहित निर्वाचित भएको र निर्वाचन समितिले प्रारम्भिक रूपमा निर्वाचित घोषणा समेत गरेको उल्लेख गरेका छन्। तर, पछि कुनै पूर्वसूचना, स्पष्टिकरण वा सुनुवाइको अवसर नदिई आफ्नो नाम अन्तिम नामावलीबाट हटाइएको भन्दै उनले त्यसलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत र विधिसम्मत नभएको बताएका छन्।

शर्माका अनुसार गण्डकी प्रदेशबाट प्राप्त मत परिणाममा प्रशान्त थापा (१०७६), मनिष खनाल (१०५२), सागर भुसाल (१०४०), सोम शर्मा (९२३), पूजा बास्तोला (९१३) र विष्णुकुमारी गुरुङ (८००) मतसहित क्रमशः रहेका थिए।

उनले रास्वपाको विधानअनुसार महिला प्रतिनिधित्व सुनिश्चित भइसकेको अवस्थामा आफूलाई हटाएर पाँचौं स्थानमा रहेकी उम्मेदवारलाई समावेश गर्नु विधानको मर्म र घोषित मत परिणामविपरीत भएको दाबी गरेका छन्। क्लस्टर प्रतिनिधित्वको व्यवस्था पनि समान सिद्धान्तमा आधारित भएकाले आफ्नो नाम हटाउने निर्णय कानुनी रूपमा टिक्न नसक्ने उनको जिकिर छ।

शर्माले उक्त निर्णयले आफूलाई मात्र नभई आफूलाई मत दिने ९२३ प्रतिनिधिको जनादेशको पनि अपमान भएको उल्लेख गर्दै निर्वाचन आयोगसँग आफ्नो वैधानिक निर्वाचित हैसियत कायम गर्न, निर्णयको कानुनी तथा तथ्यगत आधार सार्वजनिक गर्न र आवश्यक स्पष्टिकरण उपलब्ध गराउन माग गरेका छन्।

साथै, उनले समयमै निर्णय सच्याइएन भने आफ्नो संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सबै कानुनी र न्यायिक उपाय अवलम्बन गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय