काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले वर्तमान सरकारका नीति, कार्यक्रम र निर्णयहरू गरिब, किसान तथा श्रमिकवर्गविरोधी रहेको आरोप लगाएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधिहरू जनहित विपरीत देखिएको टिप्पणी गरे।

दाहालका अनुसार सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर, किसान र उत्पीडित समुदायको हितमा नभई उच्च वर्गको पक्षमा केन्द्रित छन्।

उनले यस्तो नीतिविरुद्ध प्रतिपक्षी दलहरूलाई एकताबद्ध गर्दै सदन र सडक दुवै मोर्चाबाट आवाज उठाउने तयारी भइरहेको बताए।

उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए।

दाहालका अनुसार ती दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्ने गतिविधि सक्रिय छन्।

“सरकारका नीति तथा कार्यक्रम, बजेट र निर्णयहरूले स्पष्ट देखाउँछ—यो सरकार गरिब, मजदुर र किसानका विरुद्ध छ,” उनले भने।

उनले सरकारका गतिविधिबारे जनस्तरमा पनि बुझाइ बढ्दै गएको उल्लेख गर्दै आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरे।

दाहालले सरकारविरुद्धको आन्दोलनलाई सदन र सडक दुवै मोर्चाबाट अघि बढाउने तयारी भइरहेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय