काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रति सकारात्मक दृष्टिकोणको अभावका कारण नेपालले लामो समयदेखि गरिबी झेल्नु परेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिको सही उपयोगमार्फत देशका प्राकृतिक सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने बताए।

तर नेपालमा श्रमलाई अभियानका रूपमा अघि बढाउने र यसलाई शिक्षा तथा संस्कारको रूपमा विकास गर्ने काम नभएको उनको भनाइ थियो।
“श्रम मात्रै यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ,” उनले भने, “तर हामी करको बहसमा मात्र अल्झिएका छौं, श्रममार्फत उत्पादन बढाउने विषयमा ध्यान दिएका छैनौं, त्यसैले हामी गरिब छौं।”
साम्पाङले श्रमप्रति सम्मान र सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिँदै आफूले श्रम गर्ने व्यक्तिमाथि हुने विभेद अन्त्य गर्न अभियान सञ्चालन गरिरहेको पनि बताए।




