काठमाडौँ: असार ७, ८ र ९ गते हुने महाधिवेशनका लागि उद्घाटनस्थलदेखि बन्दसत्रसम्मका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन्।
भरतपुरस्थित गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

विभिन्न राजनीतिक दलका नेताहरूबाट पनि शुभकामना मन्तव्य राख्ने तयारी गरिएको छ।
उद्घाटन समारोहलाई आकर्षक बनाउन चितवनको सांस्कृतिक पहिचान झल्कने विभिन्न जातीय तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।
समारोहका लागि घामपानीबाट जोगिने ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको छ, जहाँ हजारौं सहभागी अट्न सक्ने व्यवस्था मिलाइएको छ।
महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित सभाहलमा सञ्चालन हुनेछ।
यसका लागि आवश्यक आन्तरिक तयारी, मतदान स्थल, बैठक व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको रास्वपाले जनाएको छ।
महाधिवेशनमा नेतृत्व चयनका लागि पहिलो पटक विद्युतीय मतदान (इ–भोटिङ) प्रणाली प्रयोग गरिने भएको छ।
पार्टीका अनुसार एक सय जना प्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य मनोनयनमार्फत चयन गरिनेछन्।
देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको महाधिवेशनका लागि चितवनका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको छ।
प्रतिनिधिहरूको बसोबास खर्च स्वयंले व्यहोर्ने भए पनि खाना तथा खाजाको व्यवस्थापन पार्टीले गर्ने जनाएको छ।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।




