काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार यस वर्ष परीक्षामा सहभागीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।

सार्वजनिक नतिजाले झन्डै दुईतिहाइ विद्यार्थीले सफलता हासिल गरेको देखाएको छ।
नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीतमध्ये ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्।
यता, आंशिकतर्फ परीक्षा दिएका ८५ हजार ९२९ विद्यार्थीतमध्ये ४२.३८ प्रतिशतले परीक्षा पास गरेका छन्।
नतिजाले नियमिततर्फका विद्यार्थीको प्रदर्शन आंशिकतर्फका विद्यार्थीको तुलनामा राम्रो रहेको देखाएको छ।
बोर्डले नतिजासम्बन्धी विस्तृत विवरण अनलाइन प्रणालीमार्फत हेर्न सकिने जनाएको छ।




