काठमाडौं: गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वतयारीमा विशेष जोड दिँदै सुरक्षा निकायका प्रमुखहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित उच्चस्तरीय बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विपद् आएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो।

“हामी सधैं विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षित नतिजा आउन सकेको छैन। अब विपद् आउनुअघि नै सजग र पूर्ण तयारीमा रहन आवश्यक छ,” उहाँले भन्नुभयो।

बैठकमा गृहमन्त्री गुरुङले बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा विगतमा हेलिकप्टरको व्यापक दुरुपयोग भएको उल्लेख गर्दै वर्तमान सरकारका मन्त्रीहरूले अनावश्यक भ्रमणमार्फत राज्यकोषमा भार पार्न नपाउने स्पष्ट निर्देशन दिनुभयो।

“म आफैं पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन,” भन्दै उहाँले उद्धार तथा सुरक्षाकर्मीबाहेक अन्य कसैले विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिनुभयो।

उहाँले उच्च जोखिमयुक्त बाढी–पहिरो प्रभावित क्षेत्रहरूमा पूर्वतयारीलाई थप सुदृढ बनाउन निर्देशन दिँदै सबै निकाय एकीकृत रूपमा परिचालन भए विपद्बाट हुने मानवीय क्षति शून्यमा झार्न सकिने विश्वास व्यक्त गर्नुभयो।

“विपद्कै कारण कसैले पनि ज्यान गुमाएको खबर मैले सुन्नु नपरोस्,” गृहमन्त्री गुरुङले भन्नुभयो।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू सहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय