काठमाडौं: नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बजेट अभावका कारण महिला खेलाडीहरू प्रतियोगिताबाट वञ्चित हुन सक्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे।

महरले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन भइसकेको अवस्थामा बजेटको कारण सहभागिता रोक्नु अन्याय हुने बताए।
उनले प्रधानमन्त्रीको सामाजिक सञ्जालमा महिला फुटबल टोलीको तस्बिर रहेको उल्लेख गर्दै त्यसअनुसार व्यवहारिक सहयोग र बजेट विनियोजन हुनुपर्नेमा जोड दिए।
यसैबीच, उनले आगामी विश्वकप फुटबल प्रसारणमा लगाइने अतिरिक्त शुल्कलाई ‘लुट’ को संज्ञा दिँदै नेपाली दर्शकलाई निःशुल्क रूपमा खेल हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।




