काठमाडौं: काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि टोलटोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ।
असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली र चोकमा सर्ट फिल्म प्रदर्शनसहित विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछन्।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको लोगो सार्वजनिक गर्दै कार्यक्रमको उद्देश्य समुदायमा रहेका रचनात्मक सीप र प्रतिभालाई प्रवर्द्धन गर्नु रहेको बताइन्।
महानगरका अनुसार महोत्सव असार महिनाभर काठमाडौंका ८ स्थानमा सञ्चालन हुनेछ।
कार्यक्रम हुने स्थानका स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ भने फिल्म प्रदर्शनका लागि आवश्यक प्राविधिक सामग्री महानगरपालिकाले उपलब्ध गराउनेछ।
महानगरका प्रवक्ता नविन मानन्धरले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको बताए।
उनका अनुसार आगामी वर्ष आयोजना गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्वतयारीका रूपमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
काठमाडौं महानगरपालिकाले सन् २०२३ मा युनेस्को क्रियटिभ सिटीज नेटवर्कअन्तर्गत फिल्म विधाबाट सदस्यता पाएपछि चलचित्र र रचनात्मक उद्योगसँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाउँदै आएको छ।





