काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन निर्माण अभियानअन्तर्गत देशभरका ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्।

उनका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी छ।
यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको छ।
रास्वपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।
मधेश प्रदेशको अधिवेशन हाल स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ।
यसैबीच, पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।



