काठमाडौं: आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशन (दोस्रो बैठक) ले कार्यवाहक प्रमुख सुनिता डंगोल ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित गरेको हो।

हिजो बसेको पहिलो बैठकमा ११ क्षेत्र समेटिएको १०१ बुँदे नीति प्रस्तुत गरिएको थियो।
सो नीतिमा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, राजस्व व्यवस्थापन, सहरी योजना तथा सम्पदा संरक्षणजस्ता क्षेत्र समेटिएका छन्।
नगर सभा सदस्यहरूले पूर्वाधार, फोहर व्यवस्थापन, डुवान समस्या, पार्किङ व्यवस्थापन, सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण लगायत विषयमा सुझाव दिएका थिए।
आजको बैठकमा ती सुझावका आधारमा आवश्यक संशोधन गर्दै नीति पारित गरिएको हो। बैठकमा प्रस्तुत प्रस्तावमा सबै सदस्यहरूले समर्थन जनाएका थिए।
पारित नीतिका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गरिनेछ, जसलाई असार ४ गते हुने अर्को बैठकमा पेश गरिनेछ।




