काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकका लागि पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको छ।
मन्त्रालयले पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलमा फोहोर बढ्दै गएको र सार्वजनिक स्थानमा खाना पकाउने गतिविधि बढेपछि यस्तो सूचना जारी गरेको जनाएको छ।

सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकले भन्सार विभागमार्फत प्रवेश अनुमति लिनुपर्नेछ।
साथै यात्रुको नाम, उमेर, लिङ्ग, नेपाल बसाइ अवधि र भ्रमण गर्ने स्थानको विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि भिसा आवश्यक नपर्ने भए पनि पासपोर्ट वा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
ज्येष्ठ नागरिक र बालबालिकाका लागि आधार कार्डलाई पनि मान्यता दिइने जनाइएको छ।
मन्त्रालयले नेपालका सडक, विशेषगरी पहाडी क्षेत्रका सडक साँघुरा र घुमाउरा हुने भएकाले सवारी साधन राम्रो अवस्थामा राख्न र अनुभवी चालकले मात्र सवारी चलाउन आग्रह गरेको छ।
त्यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुरधामलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र सफा राख्न, जथाभावी फोहोर नफाल्न र वातावरण संरक्षणमा सहयोग गर्न पनि पर्यटकलाई अनुरोध गरिएको छ।
खुला स्थानमा खाना पकाउन चाहने पर्यटकले सम्बन्धित निकाय वा सेवा प्रदायकसँग अनुमति लिनुपर्ने मन्त्रालयले जनाएको छ।





