काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने योजना समावेश गरेको छ।
महानगरले काठमाडौंको कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनाको सहभागितासहित फिल्म फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ।

नीति तथा कार्यक्रममा काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय तथा रचनात्मक सहरका रूपमा विकास गर्ने उल्लेख गरिएको छ।
यसका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, जिर्णोद्धार र प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।
यस्तै, स्थानीय कला, संस्कृति, परम्परागत सीप, पाककला, साहित्य तथा संगीतको संरक्षण र प्रवर्द्धनका लागि चलचित्र महोत्सव, खाना महोत्सव, प्रदर्शनी तथा अन्य सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।
महानगरले इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ जात्रालगायत सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ।




