काठमाडौं: फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले टर्कीमाथि सहज जित निकालेको छ।
आइतबार बिहान क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
उनले खेलको २७औँ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा बनाएको अग्रतालाई दोस्रो हाफमा कोनर मेटकाल्फले थप मजबुत बनाए।
उनले ७५औँ मिनेटमा गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरे।
खेलभरि बल नियन्त्रणमा टर्की हाबी देखिए पनि गोल गर्न भने असफल रह्यो।
टर्कीले सिर्जना गरेका अवसरहरूलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य बन्यो।
यस जितसँगै अष्ट्रेलियाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ।
समान अंक भए पनि राम्रो गोलअन्तरका कारण आयोजक अमेरिका समूहको शीर्ष स्थानमा रहेको छ।
टर्की र पाराग्वेले भने अंकको खाता खोल्न सकेका छैनन्।
यसअघि सम्पन्न अन्य खेलहरूमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको थियो भने कतार–स्विट्जरल्यान्ड र मोरक्को–ब्राजिलबीचको खेल बराबरीमा टुंगिएको थियो।
समूह चरणअन्तर्गत आजको अन्तिम खेलमा जर्मनी र कुराकाओ आमनेसामने हुनेछन्।





