काठमाडौं:  प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा ज्ञानेन्द्र शाहीले स्वास्थ्य सेवा, वैदेशिक लगानी र बजेट घाटासम्बन्धी विषयमा सरकारसँग स्पष्टीकरण माग गरेका छन्।

बिहीबार संसदमा बोल्दै उनले शिक्षा र स्वास्थ्य संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा कर लगाउँदा त्यसको असर सेवाग्राहीमाथि पर्न सक्ने बताए।

शाहीले सरकारले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने नीति अघि सारेको सन्दर्भमा स्वदेशभित्र लगानी आकर्षित गर्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले बजेटमा उल्लेख गरिएको ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँको अनुमानित घाटा कसरी व्यवस्थापन गरिने हो भन्नेबारे सरकारसँग स्पष्ट योजना माग गरे। विदेशी ऋणमा निर्भरता बढे त्यसको दीर्घकालीन असर अर्थतन्त्रमा पर्न सक्ने उनको भनाइ थियो।

सांसद शाहीले स्वदेशी औषधि उद्योगको संरक्षण, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्ने नीतिमा सरकारले थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय