काठमाडौं: प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन पक्षबारे प्रश्न उठाएका छन्।
बिहीबार संसदमा बोल्दै उनले बजेटमा व्यक्तिगत आयकरको सीमा वृद्धि, स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई समेटिएको विषयलाई सकारात्मक रूपमा उल्लेख गरे।

तर शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रका चुनौती समाधान गर्न थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
सिंहले किसान, गरिब तथा बेरोजगार युवाको जीवनस्तर सुधार हुने खालका कार्यक्रमलाई अझ प्राथमिकता दिनुपर्ने धारणा राखे। साथै बढ्दो सार्वजनिक ऋण र न्यून पुँजीगत खर्चप्रति पनि उनले चिन्ता व्यक्त गरे।
बजेटको आकार ठूलो भए पनि यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले सरकारलाई परिणाममुखी कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहेको छ।



