काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी संसद अवरोध अन्त्य गर्ने संकेत गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेको विषयमै संसद लामो समय अल्मलिएर बस्न नहुने बताएका हुन्।

उनले संसद प्रधानमन्त्रीलाई आवश्यक नलागे पनि प्रतिपक्षका लागि महत्वपूर्ण रहेको टिप्पणी गरे। साथै मुलुकका महत्वपूर्ण विषयहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा ठूला रहेको भन्दै संसदको बहुमूल्य समय खेर फाल्न नहुने धारणा राखे।
आङ्देम्वेले प्रधानमन्त्री फेरि कुनै दिन ‘छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला’ भन्ने डर लागेको समेत बताए।
उनले अब आफू प्रधानमन्त्रीलाई खोज्न नचाहने भन्दै संसदलाई जनताका मुद्दामा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनदेखि संसदमा विरोध जनाउँदै आएका छन्।



