काठमाडौँ: प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र उनले सदनमै आएर माफी माग्नुपर्ने अडान विपक्षीले राखेपछि सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक अन्ततः सहमति जुट्न नसक्दा भोलिका लागि सारिएको हो।

सदनको गतिरोध अन्त्य गर्न आजै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखी विपक्षीहरूसँग संवादको प्रयास गरे पनि कुरा मिल्न सकेन, जसका कारण संवादबाटै निकास खोज्न सभामुखलाई आग्रह गर्दै बैठक स्थगित गरिएको छ।



