काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनित गरेको छ।
पार्टीले कार्कीलाई विधान, नीति, सिद्धान्त तथा विभागको नियमावलीअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ उक्त पदमा मनोनयन गरेको जनाएको छ।

काठमाडौं निवासी कार्की अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा व्यक्तित्व हुन्। उनले विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध अन्तर्राष्ट्रिय संगठनमा सहअध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन्।
कार्कीले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन्।
उनले पोल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय ‘वर्ल्ड अर्बन फोरम’, अमेरिकाको वासिङ्टन डीसी र न्यूजिल्यान्डमा सम्पन्न ‘डेमोक्रेटिक फोरम’ लगायत फिनल्याण्ड, जर्मनी, मोरक्को र बेलायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जाल विस्तारमा योगदान पुर्याएका छन्।
शहरी योजनाको क्षेत्रमा समेत विज्ञता राख्ने कार्कीले नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत नगर विकास कोषको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
मनोनीत भएसँगै कार्कीले पार्टीको नीति, सिद्धान्त र विधानप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



