काठमाडौं: विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा–लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइनेछ।

यस सम्झौतासँगै म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू पहिलोपटक नेपाल प्रवेश गर्ने भएका छन्। करिब ३०० होटल कोठा थपिने यी परियोजनाहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगायत दुवै कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्झौतापछि म्यारियट इन्टरनेशनलका एशिया–प्रशान्त क्षेत्र (चीन बाहेक) का अध्यक्ष राजीव मेननले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा विश्वस्तरीय सेवा विस्तार गर्न चौधरी ग्रुपसँगको सहकार्यलाई थप मजबुत बनाउन पाउँदा खुशी लागेको बताए। उनले यी परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यो सहकार्य नेपाल र दक्षिण एशियाको आतिथ्य उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण कदम भएको बताए। उनले स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने र विश्वस्तरीय अनुभव प्रदान गर्ने गन्तव्य निर्माणमा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

ठमेलमा बन्नेछ रिट्ज–कार्लटन काठमाडौं

नेपालमा पहिलोपटक भित्रिन लागेको रिट्ज–कार्लटन काठमाडौं राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा निर्माण हुनेछ। होटलमा १५० वटा आकर्षक कोठा, ३० वटा सुइट, पाँचवटा रेस्टुरेन्ट तथा बार, अत्याधुनिक स्पा, फिटनेस सेन्टर, बाहिरी स्विमिङ पुल तथा १,१०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको सम्मेलन तथा कार्यक्रम हल रहनेछ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा रहनेछ भने ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ र पशुपतिनाथजस्ता प्रमुख सम्पदास्थल नजिकै अवस्थित हुनेछ।

वेस्टिन काठमाडौंमा स्वास्थ्य र आरामलाई प्राथमिकता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा निर्माण हुने वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम कोठा तथा सुइट रहनेछन्। होटलमा तीनवटा भोजनस्थल, फिटनेस स्टुडियो, स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक र बैंक्वेट सुविधा रहनेछ।

वेस्टिन ब्रान्डले स्वास्थ्य, आराम र सन्तुलित जीवनशैलीलाई केन्द्रमा राख्दै यात्रुको थकान कम गर्ने विशेष वेलनेस सेवा उपलब्ध गराउने जनाएको छ।

पर्यटन क्षेत्रमा नयाँ सम्भावना

पर्यटन व्यवसायीहरूका अनुसार विश्वप्रसिद्ध रिट्ज–कार्लटन र वेस्टिनजस्ता ब्रान्ड नेपाल भित्रिनु देशको पर्यटन उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो। यसले उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्नुका साथै अन्तर्राष्ट्रिय लगानी र रोजगारीका अवसर समेत बढाउने अपेक्षा गरिएको छ।

यी दुवै होटल चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय