काठमाडौँ: ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा जेठ २३ गतेदेखि ‘थर्ड नेपाल अक्वास्टिक काठमाडौँ मेयर कप स्वीमिङ् च्याम्पियनसिप’ सुरु भएको छ।
दुई दिनसम्म चल्ने यस प्रतियोगितामा ६ देखि २५ वर्ष उमेर समूहका ओलम्पियन डुआना लामासहित कुल १७२ जना (७८ महिला र ९४ पुरुष) राष्ट्रिय तथा विभिन्न क्लब र विद्यालयका खेलाडीहरूले ३७ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

दक्षिण एशियाली खेलकुदका लागि खेलाडी छनोटको आधारसमेत बनाइएको यस खेलका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
काठमाडौँ महानगरपालिका सामाजिक समितिका संयोजक रामकुमार के.सी. ले आगामी वर्ष पौडी खेलको आयाम अझ बढाउने योजना रहेको बताउनुभएको छ भने पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले महानगरको सहयोगले अर्को वर्ष दक्षिण एशियाली स्तरको प्रतिस्पर्धा गराउन हौसला मिलेको उल्लेख गर्नुभएको छ।






