काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको जानकारी दिएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी कलेजहरूका बारेमा व्यापक गुनासो आएकाले तिनलाई व्यवस्थित गर्न कडा नियमनको ढाँचा तयार पारिएको बताए।

नेपाली क्याम्पसहरू नियमनको दायरामा भए पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू अहिलेसम्म राम्रोसँग नियमन हुन नसकेको मन्त्री पोखरेलको भनाइ छ।

शिक्षा मन्त्रालयले नियमावलीको अन्तिम मस्यौदा अर्थ र कानुन मन्त्रालयमा पठाइसकेको र यसै हप्ताभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा लगिने उनले स्पष्ट पारे।

यो नियमावली पारित भएपछि कलेजहरूलाई कुन आधारमा सम्बन्धन दिने वा नदिने भन्ने कुरा स्पष्ट हुनेछ।

शिक्षा मन्त्रालयले हाल विदेशी कलेज नियमन, कन्सल्टेन्सी नियमन र शिक्षा नियमावली गरी तीन वटा नियमावली एकसाथ अघि बढाएको छ।

यसका साथै स्थानीय तहसँग मिलेर विद्यालयहरूमा शिक्षक दरबन्दी मिलानको काम समेत सुरु भइसकेको मन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय