काठमाडौँ: चौतर्फी विरोध र पार्टीभित्रको तीव्र विवादपछि नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा बनाइदिने भनेको केन्द्रीय कार्यालय भवन र जग्गा नलिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा गुरुङ दम्पतीको सो प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने र अब एमालेको नयाँ कार्यालय पुरानै ठाउँ मदननगर, बल्खुमै बनाउने प्रस्ताव राखेका हुन्।

यसअघि एउटा व्यापारिक घरानाबाट अर्बौँको जग्गा र भवन दानमा लिन लागेको भन्दै एमालेको ठूलो आलोचना भएको थियो भने सो निर्णयको विरोध गर्ने पार्टीकै नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि कारबाहीसमेत गरिएको थियो।
तर, चौतर्फी दबाब बढेपछि अन्ततः एमाले आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो।




