काठमाडौँ। प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी सांसदहरूले संसद अवरुद्ध पारेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरलगायत विपक्षी दलका नेताहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका थिए।
उनीहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ अनुरूप प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नहुँदासम्म संसद्को कुनै पनि कार्यसूची अगाडि बढ्न नदिने अडान राखेका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर तालिका तत्काल तय गर्नुपर्ने भन्दै संसदमा उभिएर विरोध जनाएपछि बैठकमा गतिरोध सिर्जना भएको थियो।
सभामुख अर्यालले पटक-पटक सांसदहरूलाई बस्न र सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीको अवरोध जारी रहेपछि दलहरूबीच सहमतिको प्रयासका लागि भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।




