काठमाडौँ: प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले बाँदरका कारण देशैभरिका जनताको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै सरकारको तीव्र आलोचना गरे। देशका विभिन्न भागमा बाँदरले बालीनाली नष्ट गर्नुका साथै मानिसहरूलाई समेत आक्रमण गरिरहँदा पनि सरकार मूकदर्शक बनेको उनको आरोप छ।

संसदमा आक्रोश पोख्दै सांसद राईले भने, “बदमासी गर्ने नागरिकलाई त समातेर थुन्ने सरकारले, सोझा जनतालाई उठिबास लगाउने बाँदरलाई चाहिँ किन नियन्त्रण गर्न नसकेको? अबको ७ दिनभित्र कानुनी वा अन्य जुनसुकै माध्यमबाट भए पनि यसको ठोस समाधान खोजियोस्। यदि सात दिनभित्र सरकारले उचित कदम चालेन भने सबै सांसदहरू मिलेर आवाज उठाउनेछौँ र संसद् बैठक अगाडि बढ्न दिने छैनौँ।”
सांसदहरूले सदनमा बारम्बार यो विषय उठाउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले नागरिकलाई यो सास्तीबाट मुक्ति दिलाउन सरकारले जुनसुकै कठोर कदम चाल्न पनि पछि पर्न नहुने माग गरे। बाँदर आतंकको दीर्घकालीन समाधान नखोजिए ग्रामीण क्षेत्रबाट मानिसहरूको बसाइँसराइ झनै तीव्र हुनेतर्फ समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।




