काठमाडाैं । नेपाली बजारमा ब्रान्ड–न्यू बाइक भाडा सेवा प्रदान गर्दै आएको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवा संरचना थप मजबुत बनाउँदै पहिलो अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याएको छ। कपनस्थित ढलाने ब्रिजनजिकै स्थापना गरिएको उक्त वर्कसप शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष तथा एफएनसिसीआईका केन्द्रीय सदस्य कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुप का प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालि का सीईओ बाबुराम शर्मा र सीजी मोटर्स का सीईओ कपिल सिवाकोटी लगायतको उपस्थिति थियो।

कम्पनीका अध्यक्ष अभिषेक खतिवडाका अनुसार ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा दिन पूर्वाधार सुदृढ गर्न वर्कसप सञ्चालन गरिएको हो। “वर्कसपसँगै अब सेवा अझ व्यवस्थित र प्रभावकारी हुनेछ,” उनले बताए। आगामी दिनमा शाखा विस्तार र प्राविधिक केन्द्र स्थापना गर्ने तयारीसमेत कम्पनीले अघि सारेको छ।

हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट सेवा सुरु गरेको आरवाईडी नेपालले हाल आफ्नो फ्लीट १०० पुर्‍याइसकेको छ। नयाँ वर्कसपमा नियमित सर्भिसिङ, इन्जिन चेक, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापनलगायत सेवा अनुभवी प्राविधिक टोलीमार्फत उपलब्ध हुनेछ।

‘अब कमाउने पालो तपाईंको’ भन्ने नारासहित अघि बढिरहेको आरवाईडी नेपालले युवा रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ। कम्पनीले प्रतिदिन ८०० रुपैयाँ भाडामा ब्रान्ड–न्यू बाइक उपलब्ध गराउँदै आएको छ, जसमा लुकेको शुल्क वा अतिरिक्त जटिलता नरहेको जनाएको छ। डिजिटल प्लेटफर्ममार्फत अनलाइन बुकिङ सुविधा उपलब्ध भएकाले ग्राहकले समय र मोडेल छनोट गरी सहज रूपमा सेवा लिन सक्ने व्यवस्था छ।

नाडाका अध्यक्षसमेत रहेका सुरेन्द्रकुमार उप्रेतीले राइडरलाई बाइक हस्तान्तरण गर्नुअघि सेफ्टी प्रोटोकल र आवश्यक गाइडलाइन अनिवार्य रूपमा सिकाउन सुझाव दिए। पूर्वअध्यक्ष दुलालले स्वदेशमै रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्न कम्पनीले महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै व्यवसाय दीर्घकालीन रूपमा सुदृढ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।

सीजी मोटर्सका सीईओ कपिल सिवाकोटीले आरवाईडी नेपाललाई भविष्यको सम्भावना बोकेको कम्पनीको रूपमा व्याख्या गर्दै केवल भाडा सेवा मात्र नभई पूर्ण ‘इकोसिस्टम’ विकास गर्न सुझाव दिए। भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्माले कम्पनीको योजना र सोचबाट प्रभावित भएर फाइनान्स सहयोग गरेको उल्लेख गरे।

कम्पनीका निर्देशक बिदुर खतिवडाका अनुसार आरवाईडी नेपालले ६ महिनाअघि परीक्षण सञ्चालन सुरु गरेको थियो र सकारात्मक प्रतिफलपछि सेवा विस्तारलाई तीव्रता दिइएको हो। आगामी आर्थिक वर्षमा बाइक संख्या २०० पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए।

विशेषतः, आरवाईडी नेपालले डेढ वर्षभित्र राइडरलाई आफ्नै बाइकको मालिक बन्न सक्ने मोडलसमेत ल्याएको छ। साथै, सुरुवातमै हेल्मेट, फोन होल्डर, रेनकोट र सगुनस्वरूप १५ सय रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

बढ्दो प्रतिस्पर्धाबीच वर्कसप सञ्चालनले आरवाईडी नेपालको सेवा गुणस्तर र ग्राहक सन्तुष्टि दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय