काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गरेको छ। पार्टीले “सबल, समृद्ध र समुन्नत नेपाल” निर्माणको दीर्घकालीन लक्ष्यसहित राष्ट्रियता, सुशासन र आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
राप्रपाले वर्तमान संविधान र निर्वाचन प्रणालीले देशका जटिल समस्याको स्थायी समाधान दिन नसक्ने दाबी गर्दै “संवर्धनवाद” लाई आफ्नो वैचारिक मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ। पार्टीले राष्ट्रको सार्वभौमिकता, अखण्डता र सांस्कृतिक पहिचानको संरक्षण गर्दै विकास र रोजगारी सिर्जनामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।

संकल्प–पत्रमा ऊर्जा, पर्यटन, कृषि तथा सूचना प्रविधिलाई विकासका प्रमुख आधारस्तम्भका रूपमा उल्लेख गरिएको छ। जलस्रोतको उपयोगमार्फत आगामी १० वर्षलाई “ऊर्जा उत्पादन दशक” घोषणा गर्ने, विद्युत निर्यात बढाउने तथा नेपाललाई हरित ऊर्जाको केन्द्र बनाउने योजना अघि सारिएको छ।
त्यसैगरी, धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन, मल कारखाना स्थापना गरी कृषि आत्मनिर्भरता, र सरकारी सेवामा पूर्ण डिजिटल प्रणाली लागू गरी सुशासन सुदृढ गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग घोषणा गर्दै युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
राप्रपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सामाजिक सुरक्षा विस्तार गर्ने तथा वि.सं. २०८७ सम्म नेपाललाई मध्यम आयस्तरको राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।
आगामी निर्वाचनमा निर्णायक शक्तिका रूपमा स्थापित हुन मतदातासँग अपिल गर्दै राप्रपाले आफ्नो चुनाव चिन्ह ‘हल’ मा मत दिन आग्रह गरेको छ।



