पश्चिम नवलपरासी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले सार्वजनिक गरेको ३१ बुँदे घोषणापत्रमा समेटिएका प्रत्येक प्रतिबद्धताको प्रगति, उपलब्धि र कार्यान्वयन अवस्थासहितको विवरण उनले जनतामाझ प्रस्तुत गरेका हुन्।

जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा चौधरीले तीन वर्षअघि जनतासँग गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन अघि सारेका हुन्। रिपोर्ट कार्ड सार्वजनिक गर्दै उनले मतदाताले प्रश्न गर्ने अधिकार नै लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताए।

उनले भने, “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले गरेका प्रतिबद्धता अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो।”

चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट प्रति उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, सम्बन्धित प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका सबै ३४ वडाका सम्पर्क कार्यालयमा उपलब्ध गराइनेछ।

उनले मतदातालाई प्रतिवेदन ध्यानपूर्वक अध्ययन गर्न र कुनै जिज्ञासा वा प्रश्न भए टोल–टोलमै पुगेर सोध्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय