काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नं. २ को क्षेत्रीय भेलाले केन्द्रीय सदस्य दीपक केसीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ।
बुधबार कागेश्वरी मनोहरा नगरपालिका–५, थलीस्थित आस्था पार्टी प्यालेसमा सम्पन्न भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै व्यापक र संगठित प्रचार अभियान सञ्चालन गर्न ठूलो संख्यामा समिति गठन गरेको हो।

भेलामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा तथा क्षेत्र नं. २ का अध्यक्ष एवं पूर्वमन्त्री राजु विष्टको उपस्थिति रहेको थियो। कार्यक्रममा यसपटकको निर्वाचनमा राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेललाई अत्यधिक बहुमतका साथ विजयी गराउने उद्घोष गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले वर्तमान निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको भन्दै राप्रपाले राष्ट्र जोगाउने एजेन्डासहित मैदानमा उत्रिएको दाबी गरे। उनले प्रचार समितिलाई गाउँ–टोलसम्म पुगेर पार्टीका एजेन्डा र उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए।
जिल्ला अध्यक्ष सिम्खडाले काठमाडौंका १० वटै क्षेत्रमा राप्रपा सशक्त अवस्थामा रहेको उल्लेख गर्दै क्षेत्र नं. २ मा पार्टी अग्रस्थानमा रहेको दाबी गरे। उनले यसपटक अत्यधिक मतान्तरसहित विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
उम्मेदवार कुन्तीदेवी पोख्रेलले जनताको अपेक्षा र चाहनाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सुशासन, भ्रष्टाचार अन्त्य, स्वदेशमै रोजगारी सिर्जना र युवालाई अवसर प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्। उनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग उठिरहेको सन्दर्भमा त्यसलाई पनि आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने उल्लेख गरिन्।
भेलामा सुजित केसी, प्रेम फुयाँल, मिजेन्द्रकाजी श्रेष्ठ, सूर्यबहादुर तामाङ, नानु नगरकोटीलगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठित र एकताबद्ध प्रयासबाट ऐतिहासिक परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्।



