मोरङ: नेपाली चलचित्र उद्योगमा ‘लेडी हिरो’ को पहिचान बनाएकी नायिका रेखा थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील कुमार शर्माको खुला समर्थन गरेकी छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धी बनेकी रेखाले यसपटक उम्मेदवारी नदिई डा. शर्माको पक्षमा उभिँदै मतदाता, शुभेच्छुक र फ्यानहरूलाई समेत उनलाई जिताउन आग्रह गरेकी हुन्।
रेखाले यो समर्थनलाई सामान्य राजनीतिक बयानभन्दा माथि राख्दै यसलाई नैतिक साहस र परिपक्व राजनीतिक सोचको अभिव्यक्ति बताएकी छन्। उनका अनुसार निरन्तर जनताको सेवामा खटिएका, जनदुख–सुखमा साथ दिँदै आएका व्यक्तिसँग चुनावी प्रतिस्पर्धा गर्नु आफूलाई उचित नलागेको हो।


अघिल्लो निर्वाचनमा रेखाले मोरङ–३ बाट उम्मेदवारी दिँदै १० हजार ९ सय ९५ मत प्राप्त गरेकी थिइन्। सोही निर्वाचनमा डा. शर्माले एमालेका उम्मेदवारलाई झण्डै २३ हजार मतान्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेका थिए। त्यो जित केवल मतको अन्तर मात्र नभई जनतासँगको सम्बन्ध, निरन्तर सेवा र उपस्थितिको परिणाम भएको रेखाको भनाइ छ।
यसपटक उम्मेदवार नबन्नुको कारणबारे रेखाले व्यक्तिगत र राजनीतिक दुवै पक्ष स्पष्ट पारेकी छन्। दुई वर्षे छोरी हुर्काइरहेकी उनले अहिले परिवारलाई प्राथमिकता दिएको बताइन्। तर पारिवारिक कारणसँगै आफ्नो क्षेत्रमा सक्षम र जनमुखी उम्मेदवार रहेकाले प्रतिस्पर्धा नगर्ने निर्णय गरेको उनको भनाइ छ।

रेखाका अनुसार डा. सुनील शर्मा दल र विचारधाराभन्दा माथि उठेर जनताको सेवा गर्ने जनप्रतिनिधि हुन्। स्वास्थ्य, शिक्षा, उपचारदेखि विभिन्न सामाजिक समस्यासम्म उनले निःशुल्क सहयोग गर्दै आएको अनुभव रेखाले सुनाइन्। पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना, सुकुम्बासी समस्या समाधानका लागि नापी र धनीपूर्जा वितरणजस्ता कामलाई उनले शर्माको स्मरणीय योगदानका रूपमा उल्लेख गरिन्।
रेखाले राजनीति व्यक्तिगत द्वेषको अखाडा बन्न नहुने धारणा राख्दै राम्रो काम गरिरहेको व्यक्तिलाई खुलेर समर्थन गर्न सक्नु नै आजको राजनीति आवश्यक मूल्य भएको बताइन्। “हामीलाई चाहिएको जनप्रतिनिधि यस्तै हो,” भन्दै उनले डा. शर्मालाई अभिभावकसमान नेता भनेर वर्णन गरिन्।
पूर्व प्रतिस्पर्धीबाट आएको यो खुला समर्थनपछि मोरङ–३ को चुनावी माहोल थप तातिएको छ। डा. शर्माले यसपटक कति ठूलो मतान्तरले जित हासिल गर्नेछन् भन्ने चासो बढेको छ। तर त्यसभन्दा महत्वपूर्ण कुरा, रेखा थापाको समर्थनले नेपाली राजनीतिमा नैतिकता, परिपक्वता र सकारात्मक राजनीतिक संस्कृतिबारे नयाँ बहस र आशा जन्माएको छ।





