काठमाडौं: नेपाली कांग्रेसले आगामी फागुन ६ गते जनकपुरधाममा मधेस सभा आयोजना गर्ने भएको छ। शनिबार बसेको कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले सभाको मिति र स्थान टुंगो लगाएको हो।

पार्टीको प्रदेश कार्यालय थापा चौक, जनकपुरधाममा सम्पन्न बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा सभा गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मा योगेन्द्र पञ्जियारलाई दिएको छ। साथै सभालाई भव्य र प्रभावकारी बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट ठूलो संख्यामा सहभागी परिचालन गर्ने निर्णय गरिएको छ।

सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। केन्द्रीय पदाधिकारीहरूको समेत उपस्थिति रहने जनाइएको छ।

कांग्रेसले सातै प्रदेशका प्रमुख सहरहरूमा यस्ता सभा गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित प्रचार अभियान तीव्र बनाउने रणनीति अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय