जनक महरा , काठमाडौँ । युनेस्को र फ्रान्सको विश्वव्यापी सिकाइ संस्थान सागको सहकार्यमा जीवनका लागि गीता ज्ञान अभियान (Gita4Life) द्वारा आयोजित दुई दिवसीय अंतर्राष्ट्रीय स्तरको अनलाइन कार्यक्रम (वेविनार) यही जनवरीको २४ र २५ गते विश्व शिक्षा दिवसको अवसरमा आयोजना हुँदैछ।
शिक्षण र सिकाइका विविध पक्षहरूलाई गीताको दृष्टिकोणबाट अध्ययन गर्ने उद्देश्यसहित Gita4Life LPI–UNESCO वेबिनार आयोजना हुने भएको छ। उक्त वेबिनार २४ र २५ जनवरी २०२६ मा अनलाइन माध्यम (Zoom) मार्फत सञ्चालन हुनेछ। विश्व शिक्षा दिवस २०२६ को अवसरमा आयोजना हुने यो वेबिनार Gita4Life क्याम्पेनले लर्निङ प्लानेट इन्स्टिच्युट, फ्रान्स तथा युनेस्को को सहकार्यमा गर्न लागेको हो। वेबिनारको मूल विषय “Exploring Different Aspects of Teaching and Learning: The Bhagavad Gita Perspective” रहेको छ।

कार्यक्रम नेपाली समयअनुसार साँझ ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुनेछ। वेबिनारमा शिक्षाविद्, दार्शनिक, अध्यात्मविद् तथा विश्वविद्यालयस्तरीय प्राध्यापकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। पहिलो दिन (२४ जनवरी) को सत्रमा योगी तथा विश्व आध्यात्मिक दार्शनिक डा. चिन्तामणि नाथको अध्यक्षतामा कार्यक्रम हुनेछ। यस दिन चैतन्य कृष्ण, प्रा. डा. निर्मलमणि अधिकारी, श्री सुदन प्रसाद डोटेल लगायतका वक्ताहरूले गीतामा आधारित शिक्षण–शिक्षा पद्धतिबारे धारणा राख्नेछन्। त्यसैगरी दोस्रो दिन (२५ जनवरी) को सत्रमा प्रा. डा. प्रेम नारायण आर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ। यस दिन डा. गोविन्दशरण उपाध्याय, डा. भवन सिंह चलाउने, श्री अनिल खड्का लगायतका वक्ताहरूले गीता र आधुनिक शिक्षाको सम्बन्धबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रमको मोडरेटरको रूपमा जीवनका लागि गीता ज्ञान अभियान ( Gita4Life) नेपालका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीले भूमिका निर्वाह गर्नुहुनेछ।
वेबिनारमा सहभागी हुन इच्छुकका लागि Zoom ID: 856 2797 1924 र Passcode: 684409 प्रदान गरिएको छ। आयोजकले शिक्षामा रुचि राख्ने शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा आम नागरिकलाई सहभागिताका लागि आग्रह गरेको छ।




