“दिमाग घोच्ने मान्छे” डकुमेन्ट्री उज्वल थापाको जीवनयात्रा, संघर्ष,सोच र कर्मको यथार्थ हो । उद्यमशीलता, सामाजिक सक्रियता तथा वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी सबैका लागि प्रेरणादायी छ ।

काठमाडौँ, २३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाको बारेमा तयार गरिएको वृतचित्र ‘दिमाग घोच्ने मान्छे’ ले मन पनि घोच्ने बताउनुभएको छ । आज ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी सबैका लागि प्रेरणा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,”नेपाल र नेपाली जनतालाई यति धेरै माया गर्ने, आफ्नो जीवन र परिवार भन्दा माथि देश रहेछ भनेर आफूले बुझ्नुका साथै बुझाउने स्वर्गीय थापाका बारेमा वृतचित्रले झन् नजिकबाट चिनाएको छ । उहाँले आफ्नो जीवनकालमा गर्नुभएका कामले दिमाग मात्र नभई मन पनि घोच्छ । उहाँ हामी माँझ नरहेता पनि उहाँको विचार र मार्गले हामीलाई पक्कै देश हितमा समर्पित हुन् ऊर्जा दिनेछ ।”

उहाँले उद्यमशीलता, सामाजिक सक्रियता र वैकल्पिक राजनीतिमार्फत उहाँले देखाउनुभएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । मन्त्री खरेलले स्वर्गीय थापाका बुवाआमा र श्रीमती एरिका अधिकारीलाई भेट्दै स्वर्गीय थापाको देश प्रतिको भावनालाई नेपाली जनताले बुझ्ने समय आएको बताउनुभएको थियो ।

स्वर्गीय थापाको बारेमा तयार गरिएको वृतचित्र हेर्न सामाजिक, राजनीतिक, कलाकारिता क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । उक्त वृतचित्रलाई आगामी शुक्रबार पुस २५ गतेदेखि नेपालका चलचित्र भवनमा समेत सार्वजनिक प्रदर्शन गरिने फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय